काठमाडौँ। एकता विवादका कारण विभाजित नेकपा एसको माधवकुमार नेपाल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुने सूचना जारी गरेसँगै झलनाथ-घनश्याम समूहले सोही समयमा विशेष घोषणाका लागि कार्यक्रमको आयोजना गरेको छ ।
बिहीबार ११ बजे भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नेपाल पक्षले ‘एकता राष्ट्रिय सम्मेलन’ मा सरिक हुन आफ्ना नेता, कार्यकर्तालाई सूचना जारी गरेपछि झलनाथ-घनश्याम पक्षले त्यही समयमा त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डीसी हलमा घोषणा कार्यक्रम तय गरेको हो ।
नेपाल पक्षले पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य, आयोग, विभाग, ज्येष्ठ कम्युनिष्ट मञ्चका सम्पूर्ण सदस्यलाई त्यहाँ उपस्थित हुने सूचना जारी गरेको छ ।
प्रदेश, जिल्ला र क्षेत्रीय कमिटीका अध्यक्ष, जनसंगठनका पदाधिकारी र पालिका कमिटीका अध्यक्षलाई पनि भृकुटीमण्डपमा उपस्थित हुन सूचना जारी गरेको छ । झलनाथ-घनश्याम पक्षले त्यही समयमा आफू पक्षका सबैलाई त्रिपुरेश्वरमा बोलाएको हो ।
उक्त समूहका नेता धर्मराज निरौलाका अनुसार बिहीबार कस्तो र कसरी नयाँ पार्टी बनाउने भन्ने विषयबारे जानकारी दिँदै राष्ट्रिय कार्यकर्ता भेलाको मिति घोषणा गरिने भएको छ । त्यस्तो भेला कात्तिकभित्रै आयोजना गरिने भएको उनले बताए ।
माधव नेपाल समूह प्रचण्ड समूहसँग एकता गर्न जाने समयमै आफूहरूको धारणा र भूमिकाबारे स्पष्ट पार्नुपर्ने भएकोले उक्त कार्यक्रमको आयोजना गएको निरौलाले बताए ।
‘राज्य दोहन गरेका, फौजदारी अभियोग र भ्रष्टाचारको आरोप लागेका मान्छेलाई सदस्य नबनाउनेसहितका नयाँ घोषणा गर्दै छौँ’, उनले भने ।
सोही समूहमा एमाले फर्किने पक्षका नेता रहेकोबारे प्रश्न गर्दा निरौलाले भने, ‘अहिल्यै एमालेमा गइहालौँ भन्ने रामकुमारी, किसानजीहरू अलिक पहिलेदेखि नै त्यो लाइनमा हुनुहुन्थ्यो, हामीचाहिँ कम्तीमा एमालेको महाधिवेशनअगाडि जाने वा कुरा गर्ने भन्नेमा छैनौँ ।’
एमाले महाधिवेशनपछि आउने नयाँ नेतृत्वसँग आवश्यक वार्ता, संवादको माध्यमबाट एकता, सहकार्य वा कसरी निकटता बढाउन सकिन्छ भन्नेबारे कुरा गरिने उनको भनाइ छ ।
पछिल्लो समय एमाले फर्किने विषयमा झलनाथ खनालले चार शर्त सार्वजनिक गरेपछि खनाल र घनश्याम भुसालबीच केही फाटो उत्पन्न भएको विषयमा प्रश्न गर्दा निरौलाले भने, ‘फाटो नै त उत्पन्न भएको होइन, अलिअलि कन्फ्युजन मात्रै भएको हो, क्लियर भइसक्यो ।’
उनका अनुसार, खनाललाई अभिभावक बनाउने र पार्टीको नेतृत्व भुसालले गर्ने कुरामा सहमत भएर खनाल पनि सोही समूहमा रहेका छन् ।








