दैलेख । पानी भर्ने क्रममा भएको विवादले दैलेखमा दुई महिलाबीच कुटाकुट भएको छ। आठबीस नगरपालिका–४ राकममा आइतबार पानी कसले अगाडि भर्ने भन्ने विषयमा शान्ती बिक र रमिला सिजापतीबीच झडप भएको हो।
पत्रकार एवं अधिकारकर्मी अमर सुनारका अनुसार झगडाको क्रममा शान्ती बिकको मुख र नाकबाट रगत बग्ने गरी चोट लागेको छ। उनले यो घटना जातीय विभेदका कारण नभई पानी भर्ने क्रममा भएको सामान्य विवादको परिणाम भएको बताए।
घटनापछि केहीले सामाजिक सञ्जालमा यसलाई जातीय विभेदसँग जोडेर टिप्पणी गरेपछि विवाद थप चर्किएको छ । दुवै पक्षबीच कुटाकुट भए पनि शान्ती बिकको मुख र नाकबाट रग बगेपछि जातीय विभेदका कारण यस्तो भएको भन्दै सञ्जालमा टीकाटिप्पणी भइरहेको छ ।

आठबीस नगरपालिकाका नगरप्रमुख तर्क बहादुर बडुवालले घटनाबारे जानकारी लिँदै गरेको बताए। विवाद मिलिसकेको भए पनि सामाजिक सञ्जालमा विषय राखेर केहीले समाजमा भ्रम फैलाउने प्रयास गरेको उनले बताए ।







