काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले कार्यकर्ताको वास्तविक परीक्षा बैठक र कोठामा होइन, सडकमा हुने बताएका छन् ।
बिहीबार बुटवलमा भएको लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले आन्दोलन र जनताको पक्षमा उभिएर आफ्नो जिम्मेवारी प्रमाणित गर्नुपर्ने बताए ।
उनका अनुसार प्रतिगमनविरुद्धको आन्दोलन र प्रतिनिधिसभा पुन:स्थापनाका लागि हुने संघर्ष कार्यकर्ताको परीक्षणको घडी हो । ‘अब परीक्षा वक्तृत्वमा होइन, व्यवहारमा हुन्छ । जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्न अग्रपंक्तिमा उभिन सक्नुपर्छ’ पौडेलले भने ।
उपाध्यक्ष पौडेलले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनले केवल एमालेको मात्र नभई सिंगो राष्ट्रको भविष्य निर्धारण गर्ने बताए । उनले यो महाधिवेशनलाई समृद्धि र समाजवादको यात्रासँग जोडिएको ऐतिहासिक अवसरको रूपमा व्याख्या गरे । ‘हामीले देशलाई स्थायित्व, विकास र राष्ट्रिय एकताको बाटोमा अघि बढाउने जिम्मा लिएको छौँ’ उनले जोड दिए ।
उनले दशौं महाधिवेशनले तोकेको मापदण्ड र पद्धतिलाई कायम राख्दै प्रतिनिधि चयन गर्नुपर्नेमा पनि जोड दिए । पौडेलले पार्टीभित्र शुद्धीकरण र संगठन सुदृढीकरणको आवश्यकता औँल्याउँदै अनुशासन, एकता र विचारमा दृढता देखाउन आग्रह गरे ।
हाल एमाले विभिन्न पक्षबाट प्रहारको निशाना बनेको उल्लेख गर्दै पौडेलले त्यसलाई परास्त गरेर पार्टीलाई अझ सबल र जनमुखी बनाउन सबै स्तरका नेताकार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘पार्टीमाथि भएका हरेक प्रहारलाई प्रतिरोध गर्दै हामीले जनताको भरोसा पुन:स्थापित गर्नुपर्छ’ उनले भने ।
बैठकमा उनले आगामी राजनीतिक कार्यक्रम, संगठन सुदृढीकरण र ११ औँ महाधिवेशन तयारीका विषयमा समेत निर्देशन दिएका थिए ।







