सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक थुनुवाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।
लागुऔषध मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका–११ का २६ वर्षीय गंगे बि.क. मिति २०८२ साल कात्तिक २१ गते बिहान प्रहरी हिरासतको कक्षमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रशासन कार्यालय, सुर्खेतका अनुसार, मृतकका परिवारसँगको छलफलपछि घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हित प्रसाद पौडेल समितिका संयोजक रहेका छन्। समितिमा खिम लाल देवकोटा, वडा अध्यक्ष (वीरेन्द्रनगर-११), पिताम्बर ढकाल (मानव अधिकार सञ्जाल, सुर्खेत), मालती बि.क. (राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, कर्णाली प्रदेश सचिव) र मृतकका परिवार तर्फबाट गीता सुनार सदस्यका रूपमा रहेका छन्।
जिल्ला प्रशासन कार्यालयले समितिलाई घटनाको सम्पूर्ण पक्षका विषयमा अध्ययन गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ।








