काठमाडौँ । मतदाता नामावली दर्ता स्थलमा सेवाग्राहीको चाप बढेपछि निर्वाचन आयोगले दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।
साथै, आयोगले १८ वर्ष उमेर नपुगेकालाई अहिले तत्काल मतदाता नामावलीमा नाम दर्ता नगर्न अनुरोध गरेको छ ।
निर्वाचन आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा नहुने नागरिकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने भन्दै उक्त मितिसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले मात्र नामावलीमा नाम दर्ता गर्न आग्रह गरिएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
उनका अनुसार आगामी निर्वाचनपछि पनि मतदाता नामावली दर्ताको कार्य सञ्चालन हुने भएकाले आगामी फागुन २० भन्दापछि १८ वर्ष उमेर पुग्ने तर अहिले नेपाली नागरिकता प्राप्त गरिसकेकालाई दर्ता स्थलमा चाप कम गर्नका लागि यस्तो अनुरोध गरिएको हो ।
सेवाग्राहीको अत्यधिक भीड व्यवस्थापनका लागि आयोगले दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लामा दुई सिफ्टमा (प्रत्येक ६-६ घण्टा) सेवा प्रवाह गर्ने निर्णय गरेको हो । यसरी दैनिक १२ घण्टा सेवा सञ्चालन गरेर दर्ता कार्यलाई सहज र तीव्र बनाउने लक्ष्य राखिएको आयोगले जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाई सेवा प्रवाह भइरहेको आयोगले जनाएको छ । अन्य जिल्लामा सेवाग्राहीको चापका आधारमा प्रमुख जिल्ला अधिकारीमार्फत थप जनशक्ति परिचालन गर्न गृह मन्त्रालयसँग पत्राचार गरिएको आयोगका प्रवक्ता भट्टराईले बताए ।
अन्तरिम सरकारले आगामी निर्वाचनको मिति तय गरिसकेपछि मात्रै आजको दिनसम्म करिब २ लाख जनाले देशभरका निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराइसकेको निर्वाचन आयोगले जनाएको छ ।








