काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति खारेजको माग गर्दै मधेश प्रदेशका सांसदहरूले दिएको रिट संयुक्त इजलासमा पुगेको छ।
मंगलबार मधेशका ७ दलका ७४ सांसदले यादवको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। बुधबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश गरेको हो। संयुक्त इजलास आगामी आइतबारका लागि तोकिएको छ।
नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन सहितका नेताहरूको नेतृत्वमा ७४ सांसद रिट लिएर सर्वोच्च पुगेका हुन्।
मधेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति खारेजको माग गर्दै परेको अर्को रिटको पेशी ११ मंसिरलाई तोकिएकोमा सो पेशी पनि आइतबारकै लागि तानिएको छ।







