काठमाडौँ । प्रदेश निजामती सेवा तथा स्थानीय सेवा (अन्य सेवासहित) का कर्मचारीको कर्मचारी सूचना प्रणाली अब प्रदेशमै अद्यावधिक हुने भएका छन्। यससँगै राष्ट्रिय किताबखानामाथिको निर्भरताको अन्त्य भएको छ।
२०८२ कार्तिक २७ गते, बिहीबार राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र कोशी प्रदेशका सचिव एकदेव अधिकारीबीच हस्ताक्षर तथा आदान–प्रदान गरिएको समझदारीपत्रले प्रशासनिक संघीयता कार्यान्वयनमा महत्त्वपूर्ण कदम चालेको मानिएको छ।
समझदारी अनुसार अब सातै प्रदेश सरकारले आफ्ना सबै कर्मचारीको व्यक्तिगत विवरण व्यवस्थापन आफैं गर्न सक्नेछन्।
गण्डकी प्रदेशमा २०८२/७/१६ देखि सुरु गरिएको “स्थानीय तह कर्मचारी विवरण प्रणाली” को पूर्ण पहुँच कोशी प्रदेशलाई पनि आज कार्तिक २७ गते हस्तान्तरण गरेपछि सम्पूर्ण प्रक्रिया सम्पन्न भएको राष्ट्रिय किताबखानाका महानिर्देशक पोखरेलले प्रशासनलाई बताए।
उनका अनुसार अब राष्ट्रिय किताबखानाले हस्तान्तरण गरिएको कर्मचारी विवरण प्रणालीको प्राविधिक सहयोग, मर्मत–सम्भार तथा आवश्यकता अनुसार परिमार्जन मात्र गर्नेछ। प्रदेशहरूले भने आफ्ना कर्मचारीको सम्पूर्ण विवरण आफैं अद्यावधिक गर्नेछन्।
उक्त प्राविधिक स्वायत्तताले प्रदेश सरकारको प्रशासनिक क्षमता अभिवृद्धि हुने, कर्मचारी व्यवस्थापन थप सरल, पारदर्शी र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।







