पश्चिम नवलपरासी । पश्चिम नवलपरासी, प्रतापपुर-१ ईलाका प्रशासन कार्यालय सेमरीमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने सेवा औपचारिक रूपमा सुरु गरिएको छ। प्रतापपुर, सुस्ता र बर्दघाट नगरपालिकाका केही वडाका नागरिकलाई लक्षित गर्दै विशेष कार्यक्रमका बीच यो सेवा थालनी गरिएको हो।
उद्घाटनका अवसरमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले २४ वर्षीय अपाङ्ग ज्योति चौधरीलाई सम्मानपूर्वक स्वागत गर्दै पहिलो फोटो खिचेर सेवाको शुभारम्भ गरे। अध्यक्ष यादवले सेमरीमै सेवा उपलब्ध भएपछि अब नागरिकलाई जिल्ला मुख्यालय परासी धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्ण प्रसाद लम्सालले फोटो खिच्ने सेवा स्थानीय तहमै सञ्चालन हुनुले नागरिकलाई सहजता र राहत मिलेको बताए। “राज्यले जनताको ढोका ढोकामा सेवा पुर्याउने सुशासनको अवधारणा यस्तै हो,” उनले भने, “अब नागरिकले सदरमुकाम धाउनुपर्ने झन्झटबाट पूर्ण रूपमा मुक्ति पाएका छन्।”
प्रजिअ लम्सालले जिल्लाको दक्षिणी सिमानाका हुँदै आउने सेवाग्राहीलाई कुनै समस्या नपरोस् भन्ने लक्ष्यसहित छिटोछरितो सेवा सुनिश्चित गर्न प्रशासन निरन्तर प्रयत्नशील रहने बताए।
२०७३ सालमा स्थापना भएको ईलाका प्रशासन कार्यालय सेमरीमा हाल १ अधिकृतसहित ५ जनाको जनशक्तिद्वारा सेवा प्रवाह भइरहेको जानकारी दिइयो। प्रजिअ लम्साल पश्चिम नवलपरासीमा आएयता प्रत्येक बुधबार १२:०० देखि १२:३० सम्म नागरिकका गुनासा सुन्ने र समाधान गर्ने कार्य नियमित रूपमा गर्दै आएका छन्।
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रजिअ लम्सालले नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्ग व्यक्तिहरूलाई पनि यही सेमरी कार्यालयबाटै राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचेर परिचयपत्र नम्बर उपलब्ध गराइने जानकारी दिए।
स्थानीय तहमै सेवा विस्तार भएपछि जिल्लाका नागरिकले सुविधाजनक, सहज र समावेशी सेवाको अनुभव गर्न पाउने अपेक्षा गरिएको छ।







