काठमाडौँ। निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सिफारिसविना नै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनहरूको लिखित जवाफ लेख्दै पूर्वप्रधानमन्त्री ओलीले संवैधानिक प्रक्रिया अघि बढाउन आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको तर राष्ट्रपतिले गैर संवैधानिक कदम चालेको आरोप लगाएका हुन् ।
भदौ २३ र २४ गते मुलुकमा ‘अराजक र असामान्य अवस्था’ भएको र त्यसलाई सामान्यीकरण गर्न आफूले राजीनामा दिएको भन्दै उनले लिखित जवाफमा आफ्नो राजीनामा ‘अवस्थालाई सामान्यीकरण गर्ने र संवैधानिक प्रक्रियालाई अगाडि बढाइ नयाँ सरकार गठन गर्न सकियोस्’ भन्ने उद्देश्य रहेको जिकिर गरेका हुन् ।
उनले लिखित जवाफमा भनेका छन्, ‘मेरो राजिनामापछि संविधानको धारा ७६ बमोजिम नयाँ सरकार गठनको लागि राष्ट्रपतिबाट आह्वान नगरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्ने काम संविधानको ठाडो उल्लघंन हो ।’







