काठमाडौँ। नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एउटा व्यक्तिलाई हटाएर नेतृत्व कब्जा गर्न खोज्ने समूहबाट सतर्क रहनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष गुरुङले भने-एउटा व्यक्ति शेरबहादुर देउवालाई मात्रै हटाएर नेपाली काँग्रेस बढ्छ भन्ने जुन सोचका साथ नेपाली काँग्रेसलाई बढाउँदै छौँ यही नै आज नेपाली काँग्रेसको दुर्भाग्य भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनमा जाने निर्णय गरोस् भन्ने हाम्रो आग्रह छ ।
तरुण अध्यक्ष गुरुङले भदौ २३ र २४ गतेको आन्दोलन अन्तिम नरहेको बताए । उनले आगामी दिनहरूमा त्यस्ता आन्दोलन हुन सक्नेतर्फ संकेत गर्दै आन्दोलनबाट हुने मानवीय र भौतिक क्षति नियन्त्रणका लागि तरुण दलले पूर्व तयारी गर्ने बताए ।
अध्यक्ष गुरुङले काँग्रेसमा एउटै व्यक्ति पटक पटक सांसद र मन्त्री बन्ने परम्परा रहेको भन्दै त्यो पद्धतिमा बहस गर्न सुझाव दिएका छन् ।
गुरुङले भदौ २४ गतेको ध्वंसात्मक प्रदर्शनबारे नेपाली काँग्रेसले धारणा सार्वजनिक गर्न नपाउँदै नेतृत्व परिवर्तनमा भएको गतिविधिको विरोध गरे ।
उनले भने, ‘हाम्रा नेताहरूको घर जलिरहेको थियो । हाम्रा नेताहरू कोही छिमेकी र कोही आफन्तकोमा बस्न बाध्य भएको अवस्था थियो । हाम्रो पार्टी सभापति शेरबहादुर देउवा नेपाली सेनाको नियन्त्रणमा हुनुहुन्थ्यो । जहाँ अत्यन्तै गम्भीर अवस्थामा हुनुहुन्थ्यो । देशभरिका नेता, कार्यकर्ताले आफ्नो सभापति बाँचेको हेर्न चाहन्थ्यौँ त्यही मौका पारेर गाउँ गाउँमा हाम्रा नेता, कार्यकर्ताहरूलाई धम्काएर विशेष महाधिवेशनका नाममा हस्ताक्षरको अभियान चलाइयो । के त्यस्तो आइपर्यो काँग्रेसभित्र जेनजीका नाममा विशेष महाधिवेशनको नाममा हस्ताक्षर अभियान चलाइयो ? भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनले नेपाली काँग्रेसमा विशेष महाधिवेशनको माग गरेको अवस्था थियो ? नेपाली काँग्रेसको महाधिवेशन यो हाम्रो पार्टीको आन्तरिक कुरा थियो ।’
बालेन साहहरूले सिंहदरवार जलाउने भनेर देखेको सपना आज पूरा गरेका छभन्दै गुरुङले यिनको भण्डाफोर काँग्रेसले गर्ने कि नगर्ने भनी प्रश्न गरेका छन् । उनले काँग्रेसभित्र विभिन्न जेन जेड आन्दोलनलाई सहयोग गर्ने र २४ गतेको घटनामा भएको घुसपैठहरूको खोजी गरेर कारबाही हुनुपर्ने समेत बताए ।







