काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले महाधिवेशनबारे सर्वसम्मत निर्णय गर्ने कोसिस भइरहेको बताएका छन्।
सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विवादित विषयमा सहमति जुटाउने प्रयास भइरहेको बताए।
उनले भने, ‘अर्को बैठक ११ गते बोलाइएको छ, महाधिवेशन र विशेष महाधिवेशनबारे उठाइएको विषयमा हामी चाँडै निर्णय गर्छौँ।’
उनले विशेष महाधिवेशन माग गर्नेहरूको भावनालाई सम्बोधन गरेर नियमित महाधिवेशनको कार्यतालिका आउने बताए।
काँग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विवाद हुँदा बैठक अनिर्णयको बन्दी बन्दै आइरहेको छ। पुसभित्रमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारी गरिएको भए पनि सहमति बन्न सकेको छैन।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर पक्षका नेताहरू अब नियमित महाधिवेशन सम्भव नभएको भन्दै पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्।







