गोरखा । गोरखामा सात हजार ७८५ मतदाता थपिएका छन् । पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा उक्त मतदाता थपिएका हुन् ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी समय निर्धारण गरेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको हो । मतदाता नामावली दर्ताका लागि सुरुमा कात्तिक मसान्तसम्म र पछि मङ्सिर ५ गते शुक्रबारसम्म पाँच दिन म्याद थप गरिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउनेको सङ्ख्या एक हजार ५५० रहेको छ । जसमा नौ सय आठ पुरुष र पाँच सय ९४ महिला रहेका छन् । यस्तै, छ हजार २३५ जनाले राष्ट्रिय परिचयपत्रमार्फत नामावली दर्ता गराएका छन् ।
पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुट्याउनलाई भने केही समय लाग्ने सूचना अधिकारी सुवेदीले बताए। उनका अनुसार विगतको तुलनामा यसपटक मतदाता नामावली दर्ता गराउन युवापुस्ताको उत्साह देखिएको थियो । जिल्लामा मतदाताको सङ्ख्या दुई लाख २९ हजार ७६६ पुगेको छ । गोरखामा यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख २१ हजार ९८१ मतदाताले मतदान गरेका थिए ।







