काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । उनले विद्यालय शिक्षा अध्ययन गरेको कालिनाग माध्यामिक विद्यालयमा अभिनन्दन तथा सम्मान गरिएको छ ।
मन्त्री खरेललाई गृह जिल्लावासीले भ्रष्ट्राचारमा शून्य सहनशीलताको नीतिअनुसार अगाडि बढ्न र देशमा सुशासन कायम गर्न भूमिका खेल्न आग्रह गरेका छन् ।
उनले देशको अवस्था परिवर्तनका लागि आवाज उठाउँदा युवाहरूले गोली खानुपरेको भन्दै त्यही जगमा आफू मन्त्री बनेकाले सुशासनका लागि प्रतिबद्ध रहेको बताए । उनले भने, “यहाँहरू सबैलाई जानकारी छ । देशमा सबैलाई अवसर, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता, भ्रष्टाचार अन्त्यको कुरा उठाउँदा धेरै युवाले ज्यान गुमाउनुपर्यो । धेरै अंगभंग छन् । मन्त्रालयमा आइसकेपछि आफूले पनि धेरै बेथितिले घेरिएको देखेको छु । यसलाई सङ्लो बनाउन केही दिन, महिना र समय लाग्छ, तर प्रतिबद्ध भएर काम गरिरहेका छौँ ।”
मन्त्री खरेल आफ्नो जन्मभूमि कालिञ्चोक-८ सुनखानी भएकाले यस क्षेत्रको माया नमारेको तर हालको विषम परिस्थितिमा आफ्नो क्षेत्र मात्र हेरेर बस्ने अवस्था नरहेको बताए । उनले विद्यालयमा राजनीति नगरी विद्यालय र विद्यार्थीको हितलाई मात्र केन्द्रमा राखेर काम गर्न आग्रह गरेका छन् ।
मन्त्री खरेलले कुनै नेताको पछि लागेर छोराछोरी र घर परिवारको भविष्यमा खेलवाड नगर्न पनि सचेत गराएका छन्। उनले सबै पाटी खत्तम छन् भन्ने भ्रम चिरेर राम्रो मान्छेलाई अगाडि ल्याउनुपर्नेमा जोड दिएका छन् ।







