काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा बढाइएको शुल्क फिर्ता लिन वैदेशिक रोजगार व्यवसायी संघले आग्रह गरेको छ ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट मान्य नहुने चेतावनीसमेत दिएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क साढे ९ हजार रुपैयाँ पुर्याएको छ । यसअघि साढे ६ हजार रुपैयाँमा स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।
श्रमिकमाथि आर्थिक भार थप्ने गरी पूर्ववर्ती सरकारले गरेको निर्णय पुनर्विचार गर्ने व्यवसायी तथा विज्ञहरूले जोड दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले सेवा शुल्क बढाउन अनुमति दिइएको बताएको छ ।
गत चैतमै तत्कालीन मन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए । तर चौतर्फी आलोचना भएपछि यो निर्णय कार्यान्वयनमा आएको थिएन । गत हप्ता मात्रै सरकारले १ सय ७१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको थियो ।
वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित स्वास्थ्य मन्त्रालयका तत्कालीन अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको नेतृत्वमा ३० सदस्यीय उच्चस्तरीय विशेषज्ञ कार्यदलले स्वास्थ्य परीक्षणका सामग्री थप, ल्याब सुधार र परीक्षणको दायरा विस्तार गर्न सिफारिस गरेको थियो । यस प्रतिवेदनअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणको दायरा विस्तार र शुल्क निर्धारण गरेको जनाएको छ ।
श्रम मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको दस्तुरलाई आधार मानेर स्वास्थ्य सेवा परीक्षण शुल्क निर्धारण गरिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले तोकेका दस्तुरअनुसार ३४ प्रकारको परीक्षण सरकारी १२ हजार रुपैयाँभन्दा बढी पर्ने भए पनि, प्याकेजमा स्वास्थ्य परीक्षण आवश्यक भएकाले ९ हजार ५ सय कायम गरिएको छ ।







