काठमाडौँ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ, नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल भएको हो ।
त्यस अवसरमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार व्यवसायसँगै सेवा पनि भएकाले श्रमिकको सर्वोत्तम हितका लागि तीन तहकै सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले व्यवसायमा देखा पर्ने जुनसुकै सिन्डिकेट प्रवृत्ति आफूलाई स्वीकार नहुने र त्यसका विरुद्धमा निरन्तर लागिरहेको सुनाए ।
साथै उनले वैदेशिक रोजगार सेवा शुल्कबारेमा छलफल गर्न तीन तहकै प्रतिनिधि र मन्त्रालयको वैदेशिक रोजगार महाशाखाको संयोजनमा छलफल समिति बनाउन आग्रह गरेका छन् ।
स्वास्थ्य व्यवसायी महासंघका महासचिव कृष्णप्रसाद बजगाईँले हालसम्म सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको बताए । व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले स्वास्थ्यका नाममा एक प्रकारको सिन्डिकेट देखिएको बताए । अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले पछिल्लो समय प्रविधिमैत्री तालिम सुविधा वृद्धि गर्ने कार्य भइरहेको र अनुभवी प्रशिक्षणसमेत सहभागिता बढ्न थालेको प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।







