काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणकी एक कर्मचारीले कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सहभागिता जनाएकी छन्।
प्राधिकरणको क्षेत्रीय वितरण केन्द्र बुटवल, कालिका नगरमा कार्यरत वरिष्ठ सहायक (सिनियर मिटर रिडर) कल्पना थापाले कार्यालयबाट घर बिदा स्वीकृत गराएर एमाले महाधिवेशनमा प्रतिनिधि (मतदाता) को हैसियतमा सहभागिता जनाएकी हुन्।
थापाले गत शुक्रबार कार्यालयबाट दुई दिनका लागि (आइतबार र सोमबार) घर बिदा स्वीकृत गराएर काठमाडौँ आएकी थिइन्। शनिबार आयोजित एमाले महाधिवेशनको उद्घाटन समारोहमा उनको उपस्थिति देखिएको तस्बिर सार्वजनिक भएपछि उनले सरकारी कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गरेको पुष्टि भएको हो।
कर्मचारी सेवा सर्त विनियमावलीको परिच्छेद १३ अन्तर्गत नियम १३० मा कुनै पनि कर्मचारीले राजनीतिक दलको सदस्यता लिन नहुने, राजनीतिक दलद्वारा सञ्चालित क्रियाकलापमा सहभागी हुन नपाइने तथा निर्वाचनमा भाग लिन नपाइने स्पष्ट व्यवस्था गरिएको छ। साथै, कर्मचारीले कुनै पनि राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन, मत माग्न वा राजनीतिक प्रचार–प्रसार गर्न नपाइने उल्लेख छ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बुटवलका प्रशासन प्रमुख तथा सूचना अधिकारी भोजराज पोखरेलले यस विषयमा छलफल भइरहेको जानकारी दिए। उनले भने, “कुनै पनि सरकारी कर्मचारी राजनीतिक दलको सक्रिय कार्यकर्ता बन्न विनियमावलीले अनुमति दिँदैन। राजनीति गर्नुपर्ने भए जागिर छाड्नुपर्छ। यस विषयमा कार्यालयले माथिल्लो निकायमा जानकारी गराइसकेको छ।”
सरकारी कर्मचारी भएर राजनीतिक दलको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुनु कर्मचारी सेवा सर्त विनियमावलीको उल्लंघन मानिन्छ। घर बिदा लिएर भएको उक्त सहभागितापछि नेपाल विद्युत् प्राधिकरणले आन्तरिक छलफल तथा आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।







