काठमाडौँ । नेपाल राष्ट्र बैंकले धितो सकार गर्ने व्यवस्था थप कसिलो बनाएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई धितो सकार गर्दा ३ पटकसम्म बिक्री प्रयास प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि एक पटकको लिलाम प्रक्रियामा बिक्री नभए आफैँले सकार गर्दै आएका थिए ।
बैंक तथा वित्तीय संस्थाले कुनै कर्जा असुली नभए सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्छ । तर, कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पूरा गर्दासमेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैँले सकार गर्नुपर्ने छ ।
सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ, सोही मूल्यमा मूल्यांकन गर्नुपर्ने छ ।
यदि धितोको बजार मूल्य कर्जाको लेना रकमभन्दा कम भए कम भए जति रकम सोही आर्थिक वर्ष नाफा/नोक्सान हिसाबमा खर्च लेख्ने बेहोरा लेखा नीतिमा उल्लेख गर्नुपर्ने छ ।
तर, यसरी मूल्यांकन गर्दा त्यस्तो गैरबैंकिङ सम्पत्ति बापत रकम सम्पूर्ण रूपमा हिसाब मिलान नभएसम्म लेना रकममध्ये ब्याज रकमलाई नाफा-नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन । त्यस्तो रकमलाई गैरबैंकिङ सम्पत्ति बापत नोक्सानी व्यवस्थामा सार्नुपर्ने छ ।







