काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ राजपत्रमा प्रकाशित भएको छ ।
केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेपछि राजपत्रमा प्रकाशित भएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची १ मा हेरफेर गर्दै सरकारले अध्यादेश जारी गरेको हो । अध्यादेश जारी भएसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले विभिन्न क्लस्टरमा सिफारिस गर्ने प्रतिशत हेरफेर भएको छ ।
हेरफेर भएको अनुसूची अनुसार राजनीतिक दलले बन्दसूची पेश गर्दा खस आर्यको ३१.२ प्रतिशत रहेकोमा करिब एक ०.९२ प्रतिशतले घटेर ३०.८ प्रतिशतमा झरेको छ । यस्तै मधेशीको १५.३ प्रतिशत रहेकोमा अहिले ०.८५ प्रतिशतले बढेर १६.१५ पुगेको छ ।
यस्तै आदिवासी जनजातिको २८.७ प्रतिशत रहेकोमा ०.०२ प्रतिशतले बढेर २८.७२ प्रतिशत पुगेको छ भने दलितको १३.८ प्रतिशतबाट ०.३६ घटेर १३.४४ प्रतिशत पुगेको छ । यस्तै थारुको ६.६ प्रतिशत रहेकोमा ०.०८ प्रतिशतले घटेको ६.५२ प्रतिशत पुगेको छ भने मुस्लिमको ४.४ प्रतिशतबाट ०.४९ प्रतिशतले बढेर ४.८९ प्रतिशत पुगेको छ ।
अध्यादेश जारी भएसँगै निर्वाचन आयोगले जारी गरिसकेको ‘प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२’ पहिलो संशोधनमार्फत संशोधन समेत गरेको छ ।










