काठमाडौँ । जेन जेड आन्दोलन राजनीतिक दलहरूको प्रवृत्ति, नातावाद–कृपावाद र युवासँग संवादको अभावको प्रतिफल भएको सरोकारवालाहरूले बताएका छन्।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘समन्वय र सहमतिका लागि सरोकारवालाबीच’ अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले शान्ति, सामाजिक न्याय र युवा पुस्ताले भोगिरहेका चुनौतीबारे आफ्ना धारणा प्रस्तुत गरेका छन्।
कार्यक्रममा पूर्व सांसद तथा नेपाली कम्युनिस्ट पार्टीकी नेता अन्जना बिसंखेले पुराना राजनीतिक दलहरूले अझै गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइन्। उनले भनिन्, “राजनीतिक दल समयमै जिम्मेवार नबने निर्वाचनपछिको अवस्था झन् जटिल बन्न सक्छ।”
बिसंखेले कुनै पनि पार्टीभित्र नेतृत्व र प्रवृत्तिमा परिवर्तन नआए देश गम्भीर संकटतर्फ जाने चेतावनी दिँदै जेन जेड पुस्ताका माग र सक्रियतालाई व्यवस्थित रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार, युवाको समस्या नबुझिनु नै वर्तमान असन्तोषको मुख्य कारण हो।
विश्लेषक डा. इन्द्रा अधिकारीले राजनीतिक क्षेत्रमा अपेक्षित परिवर्तन नआएको बताइन्। उनका अनुसार, जेन जेड पुस्ता र अघिल्लो पुस्ताको सोचमा भिन्नता रहेको र सत्तामा रहेका व्यक्तिहरूले युवालाई सूचनाबाट वञ्चित गर्न खोजेकै कारण जेन जेड आन्दोलन चर्किएको हो। उनले भनिन् , “सत्तामा रहेका व्यक्तिहरूका सन्तानले सहज रूपमा सेवा–सुविधा पाउँछन् भने आम युवाले पाउँदैनन्, जसले असन्तोष बढाएको छ।”
अध्ययनकर्ता रिता साहले जेन जेड आन्दोलन राजनीतिक दलहरूको प्रवृत्तिको परिणाम भएको बताइन्। उनले नातावाद र कृपावादका कारण आन्दोलन सुरु भएको र राजनीतिक दलहरूले भ्रष्टाचार संरक्षण गरेको उल्लेख गरिन्। उनका अनुसार, पार्टी नेतृत्वले वरिष्ठता त्याग्न नसक्नु र जेन जेडका माग स्वीकार नगर्नु नै आन्दोलनको मुख्य कारण हो।
साथै, उनले आगामी चुनाव नजिकिँदै गर्दा बन्ने गठबन्धन पितृसत्तात्मक रहेको र त्यसमा महिलाको सहभागिता न्यून रहेको उल्लेख गर्दै लैङ्गिक समानता व्यवहारमा लागू गर्न राजनीतिक दललाई आग्रह गरिन्।
गैरसरकारी संस्था महासङ्घकी महासचिव देवी खड्काले सामाजिक सद्भाव कायम गर्न परिवर्तन अपरिहार्य रहेको बताइन्। उनले भनिन्, “अघिल्लो पुस्ताले परिवर्तन नचाहे पनि वर्तमान पुस्ताले यसलाई गम्भीरतापूर्वक अघि बढाइरहेको छ।” खड्काका अनुसार, राज्यसत्तामा रहेका व्यक्तिहरूले युवाको सोचअनुसार अघि बढ्नुपर्ने आवश्यकता छ र निर्वाचन आचारसंहिता तथा यसको मूल्य–मान्यता नागरिकसम्म पुर्याउनुपर्ने हुन्छ।







