काठमाडौँ । मुख्यसचिव सुमनराज अर्यालले आधिकारिक तथ्याङ्कलाई सुशासनको आधार स्तम्भ बताएका छन् । बिहीबार राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा आयोजित तथ्याङ्क दिवस २०८२ कार्यक्रममा मुख्यसचिव अर्यालले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य बढाउँदै तथ्याङ्क प्रणालीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
तथ्याङ्क दिवस २०८२ “आधिकारिक तथ्याङ्क, पारदर्शी शासन” भन्ने नाराका साथ राष्ट्रिय तथ्याङ्क कार्यालयमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले गरेका थिए भने विशिष्ट अतिथिको रूपमा पूर्व मुख्य सचिव डा. वैकुण्ठ अर्याल उपस्थित थिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोग, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, पूर्व उच्च पदस्थ अधिकारी, तथ्याङ्क विज्ञ, शिक्षाविद्, विकास साझेदार संस्था तथा सञ्चारकर्मीहरू सहभागी थिए। राष्ट्रिय गानपछि उपप्रमुख तथ्याङ्क अधिकारी डा. शरदकुमार शर्माले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य प्रस्तुत गरे । उनले नीति निर्माण, योजना तर्जुमा, अनुगमन तथा मूल्याङ्कनमा आधिकारिक तथ्याङ्कको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट गरे ।

पूर्व मुख्यसचिव अर्यालले आधिकारिक तथ्याङ्कको विश्वसनीयता, प्रयोग र संस्थागत समन्वयबारे विचार राखे । वक्ताहरूले तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले प्रयोग गर्दा नीति निर्माण र दिगो विकास लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण योगदान पुग्नेमा जोड दिए ।
कार्यक्रमको अन्त्यमा पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो। वर्ष २०८२ का उत्कृष्ट कर्मचारीहरूलाई निर्देशक ज्ञानेन्द्र बज्राचार्य, तथ्याङ्क समन्वय कार्यालयका प्रमुखहरू र प्रमुख अतिथिहरूले सम्मान गरे । साथै, तथ्याङ्क क्षेत्रको विकासमा योगदान पुर्याएका केन्द्रीय तथ्याङ्क विभागका पूर्व महानिर्देशकहरू र निजामती सेवामा २५ वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रम समापन गर्दै अध्यक्ष डा. कमलप्रसाद पोख्रेलले धन्यवाद मन्तव्य व्यक्त गरे । यस अवसरमा राष्ट्रिय तथ्याङ्क कार्यालयका १८ वटा तथ्याङ्क समन्वय कार्यालयहरूले पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरी तथ्याङ्क दिवस मनाएका थिए।
तथ्याङ्क ऐन २०१५ अनुसार स्थापना भएको केन्द्रीय तथ्याङ्क विभाग २०७९ असोज २७ देखि राष्ट्रिय तथ्याङ्क कार्यालयमा रूपान्तरण भई, देशका आर्थिक, सामाजिक र जनसङ्ख्या सम्बन्धी तथ्याङ्क उत्पादन गर्दै आएको छ।







