काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपालमा सम्भावित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कानूनी र संरचनागत व्यवस्था मात्र पर्याप्त नभई तिनको प्रभावकारी कार्यान्वयन नै अहिलेको प्रमुख चुनौती रहेको बताए ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई केवल पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने वा एक दिनको सचेतनामा सीमित गर्न नहुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले भने, “यसलाई विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने भूकम्प सुरक्षित निर्माण, सुरक्षित बसोबास र सुरक्षित व्यवहार प्रवर्द्धन गर्ने दीर्घकालीन जनचेतना अभियानका रूपमा अघि बढाउनुपर्छ।”
उनका अनुसार सरकारले पछिल्ला वर्षहरूमा भूकम्प तथा बहुविपद् जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण नीतिगत तथा संरचनागत पहलहरू गरेको छ। यद्यपि, ती प्रयासहरूलाई व्यवहारमा उतार्न सबै तहको समन्वय र सक्रियता आवश्यक रहेको उनको भनाइ थियो।
भूकम्प सुरक्षा दिवस राष्ट्रिय मूल समारोह समितिलाई स्पष्ट निर्देशन दिँदै गृहमन्त्री अर्यालले भने, “हाम्रा कार्यक्रमहरू भाषणमुखी होइन, परिणाममुखी हुनुपर्छन्। व्यवहार परिवर्तनमा केन्द्रित कार्यक्रम आवश्यक छ। विद्यालय र युवालाई केन्द्रमा राख्नुपर्छ, किनकि भोलिको सुरक्षित नेपाल आजका युवाबाटै निर्माण हुन्छ। साथै, स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गरिनुपर्छ।”
भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाटै सुरु हुने उल्लेख गर्दै उनले सुरक्षा निकाय र समुदायबीच कृत्रिम अभ्यास (मक ड्रिल) लाई प्राथमिकतामा राख्न निर्देशन दिए। साथै, भूकम्प तथा अन्य विपद्बाट जोगिन भवन संहिता कार्यान्वयनको सन्देश कडा रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिँदै यसमा कुनै किसिमको सम्झौता नगर्न स्पष्ट निर्देशन दिए ।
भूकम्प सुरक्षा सरकारको मात्र दायित्व नभएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले निजी क्षेत्र, विकास साझेदार, सञ्चार माध्यम र नागरिक स्वयंको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले सबैको साझा प्रयास बिना सुरक्षित नेपाल निर्माण सम्भव नहुने स्पष्ट पारे ।
“पूर्वतयारी र जोखिम न्यूनीकरणका प्रयासमार्फत हाम्रो जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ,” गृहमन्त्री अर्यालले भने, “यसका लागि सुरक्षित, सक्षम र विपद्-उत्थानशील नेपाल निर्माणतर्फ साझा संकल्प आवश्यक छ।”
बैठकले यस वर्षको भूकम्प सुरक्षा दिवसको मूल नारा
“सबै तहको सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी” तय गर्दै पारित गरेको छ।
यसैगरी, माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवसको मूल समारोहमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री सुशिला कार्कीलाई आमन्त्रण गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ।
कुल ८० सदस्यीय मूल समारोह समितिको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिवहरू, काठमाडौं महानगरपालिकाका उपप्रमुख, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू, नेपाल सेनाका सहायक रथी तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो।








