नेपालगन्ज । बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका-१ कुसुमस्थित सौरीमा आज एक जनाको मृत्यु भएको छ ।
आक्रमणबाट स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। बाघको आक्रमणबाट केही महिनाअघि कुसुममा एक जनाको ज्यान गएको थियो ।
प्रहरीका अनुसार गाई चराउन गएको बेला शनिवार २ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जंगलमा उनीमाथि बाघले आक्रमण गरेको थियो । भण्डारीसँगै गाई चराउन गएका स्थानीय पिमलाल डाँगीले बाघले एक्कासि आक्रमण गरेर लगेको जानकारी गराएको प्रहरीको भनाइ छ । भण्डारीसँगै रहेका अन्यलाई पनि बाघले आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
घटनापछि बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायतको टोली जङ्गलमा पुगेको थियो । बाघले आक्रमण गरेको उक्त क्षेत्र पूर्वपश्चिम राजमार्गको सौरी खोलादेखि उत्तरतर्फ रहेको छ । प्रहरीका अनुसार भण्डारीको शव नजिकै ५० मिटरको दूरीमा एउटा गाईलाई समेत बाघले आक्रमण गरेर मारेको थियो ।







