काठमाडौँ । सिपमूलक तालिमका नाममा वैदेशिक रोजगार बोर्डले अघि बढाएको ठेक्का प्रक्रिया स्थगित भएको छ। आइतबार श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीको अध्यक्षतामा बसेको बोर्डको बैठकले ठेक्का स्थगन गरी थप छानबिन गर्ने निर्णय गरेको हो।
बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र कर्मचारीले अपारदर्शी रूपमा २५ करोड लागत अनुमानको तालिमको ठेक्का अघि बढाएका थिए। लक्षित वर्गसमेत पहिचान नगरी तालिम दिन लागिएको थियो।
तालिमका लागि संस्था छनोट पनि पारदर्शी नभएको गुनासोपछि मन्त्रालयले यसअघि नै छानबिनसमेत गरेको थियो। छानबिन समितिको प्रतिवेदनका सुझावलाई समेत लताचार ठेक्का प्रक्रिया अघि बढाएपछि सर्वत्र प्रश्न उठेको थियो। सो विषयमा मन्त्रालयले थप छानबिन गर्ने भएको छ।
वैदेशिक रोजगारीमा जाने कामदारबाट उठाइने पैसाबाट यसरी अपारदर्शी रूपमा तालिमका नाममा ठुलो रकम खर्च हुँदै आएको विषयमा आइतबार नयाँ पत्रिकामा समाचार प्रकाशित भएको थियो।







