काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) पदमा ओम खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ। सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले केही महिनादेखि रिक्त रहँदै आएको उक्त पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए। यससँगै विभागभित्र रोकिएको उच्च तहको पदपूर्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
प्रशासन डटकमले केही दिनअघि मात्रै राष्ट्रिय अनुसन्धान विभागमा एआईजीसहित दर्जनौँ पद रिक्त रहँदा सरकार करिब १०० दिनसम्म मौन बसेको विषयमा विस्तृत समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा एआईजी पद रिक्त रहँदा त्यसअन्तर्गतका डिआइजी, एसएसपी, एसपी र डीएसपी तहका पदहरूमा समेत बढुवा प्रक्रिया अवरुद्ध भएको उल्लेख गरिएको थियो।
खड्का वरिष्ठताका आधारमा पहिलो नम्बरमा थिए भने त्यसपछि क्रमशः कृष्ण खनाल, रामप्रसाद दास र प्रजेश सिंह हमाल रहेका थिए।
तत्कालीन प्रमुखको अवकाशपछि लामो समयसम्म एआईजी पद पूर्ति नहुँदा विभागको प्रशासनिक संरचना मात्र होइन, रणनीतिक पूर्वसूचना संकलन र विश्लेषण क्षमतामै असर परेको गुनासो उठ्दै आएको थियो। नियमावली स्पष्ट हुँदाहुँदै पनि बढुवा प्रक्रिया अघि नबढ्नुले सरकारको प्रशासनिक प्राथमिकतामाथि प्रश्न खडा भएको थियो।
आजको मन्त्रिपरिषद् निर्णयसँगै एआईजी पदमा बढुवा भएपछि विभागमा रोकिएका अन्य तहका बढुवा प्रक्रिया पनि क्रमशः अघि बढ्ने विश्वास गरिएको छ। जानकारहरूका अनुसार, यो निर्णयले लामो समयदेखि देखिएको करियर अनिश्चितता र संगठनात्मक मनोबलमा परेको नकारात्मक प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निर्वाचनको तयारी, आन्तरिक सुरक्षा चुनौती र पूर्वसूचना संकलनको संवेदनशीलताका बीच आएको यो निर्णयलाई राष्ट्रिय अनुसन्धान विभागको संस्थागत स्थायित्वतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।







