काठमाडौँ । जिप दुर्घटनामा नेपाली सेनाका अमलदार हरिसिंह ऐडीको मृत्यु भएको छ ।
हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐडीको मृत्यु भएको मुगु प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार बैतडीको पाटन-४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो ।
न१झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आल्लाधुना खोलाको मोडमा दुर्घटनामा परेको थियो ।
आइतबार बेलुकी ७ बजे जिप दुर्घटनामा परेको थियो । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । बोलेरो सडकदेखि २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका ऐडीलाई राति १० बजे नै मुगु अस्पतालमा पुर्याइएको थियो ।







