काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले खाद्य उत्पादनमा देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।
आयोगले बिहीबार आयोजना गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्था र पुनरावलोकन विषयक छलफलमा उनले यस्तो बताएका हुन् ।
संविधानले प्रदान गरेको सबै नागरिकको खाद्य अधिकारलाई पूरा गर्न नेपालमा उत्पादन बढाउने गरी नीति बनाउनुपर्नेमा उनले जोड दिए ।
हाल आयातमार्फत भए पनि नेपालमा खाद्य अभाव नभएको उनले बताए । तर यसलाई सुधार गरेर खाद्यमा नेपाल नै आत्मनिर्भर हुने गरी उत्पादन बढाउन लाग्नुपर्नेमा उनले जोड दिए ।
उनले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको व्यवस्था र मर्म पनि पनि त्यही नै रहेको दाबी गरे ।
उनले खाद्यमा विषादी हुने गरेको उल्लेख गर्नुहुँदै सम्बन्धित निकायले त्यसलाई निगरानीमा राख्नुपर्ने बताए । स्वच्छ खानेकुरा खान पाउनु नागरिकको अधिकार भएको उनको भनाइ छ ।
‘ऐन कार्यान्वयन हुने र सबैको खाद्य अधिकार संविधानले प्रदान गरेको अधिकार प्रयोग गर्न पाउनुपर्छ । हामी कहाँ फुड सटेज छैन अहिले तथापि हामीले धान चामल बाहिर निकासी गर्थ्यौ, अहिले बाहिरबाट आयात गरिहरेका छौँ,’ उनले भने, ‘तर यसलाई सुधार गरेर हामीले खाद्यको अवस्था जुन हो, हामीले हामै देशमा पुग्ने बनाउनुपर्छ । त्यस्तो नीतिको व्यवस्था गरेर जानुपर्छ । यो ऐनको व्यवस्था पनि त्यही नै हो । खाद्यमा विषादी पनि हुनुभएन, त्यसलाई पनि निगरानी राख्नुपर्यो । स्वच्छ खानेकुरा खान पाउनुपर्छ ।’
उनले खाद्य सुरक्षासम्बन्धी आयोगले सरकारलाई दिएको सुझाव कार्यान्वयनमा नआएको पनि गुनासो गरे । आयोगले दिएको सुझावलाई कार्यान्वयनमा ल्याउन उनले सरकारलाई आग्रह गरे ।







