काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् ।
काँग्रेस नेता-कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्न खोजेका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियामा दिएका थिए । तर मुख्यसचिव पौडेलले नै अर्को सूचना पठाएर सो पत्रकार सम्मेलन स्थगित गरिएको जनाएका छन् ।
इतर समूहका नेता डा। शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन हुने प्रचार गरिएको थियो । तर अहिले किन एक्कासि पत्रकार सम्मेलन स्थगित गरियो भन्ने खुलिसकेको छैन ।
यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।







