काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई काँग्रेसभित्रको विवाद तत्काल मिलाउन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आग्रह गरेको छ ।
आज बिहान महाराजगन्जस्थित देउवा निवासमा सभापति देउवालाई भेट्दै भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको युवा नेताहरूले यस्तो आग्रह गरेका हुन् ।
युवा टोलीले वर्तमान विषम राजनीतिक परिस्थितिमा पार्टीभित्र देखिएका आन्तरिक समस्याको समाधानका लागि पार्टी सभापति देउवासमक्ष एकता र मेलमिलापको पहल गर्न आग्रह गरेको नेविसंघले जनाएको छ।
उनीहरूले विगतमा आन्तरिक विवाद र झगडाकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव स्मरण गराउँदै यस्ता अवस्थाबाट समयमै सचेत हुन आवश्यक रहेको औँल्याएका थिए। पार्टीभित्र बढ्दै गएको असमझदारीले संगठनात्मक एकतालाई कमजोर बनाउने खतरा रहेको उनीहरूको भनाइ छ।
वर्तमान राजनीतिक चुनौतीको सामना गर्न नेपाली काँग्रेस पार्टीलाई एक ढिक्का बनाएर संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत अघि बढ्नुपर्ने धारणा सभापति देउवासमक्ष राखिएको नेविसंघका केन्द्रीय सदस्य आशिष् देवकोटाले बताए ।
युवा नेताहरूले पार्टीलाई मजबुत, अनुशासित र जनमुखी बनाउने दायित्व सबै तहका नेता तथा कार्यकर्ताको साझा जिम्मेवारी भएकोमा जोड दिएका छन्।
उक्त भेटमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष् देवकोटा, बाबुराम भट्टराई, नविनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायत नेताहरूको सहभागिता रहेको थियो।







