काठमाडौँ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा बुटवलमा भूकम्प सिकाइ प्रदर्शनी सुरु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदर्शनीको उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न नवीनतम प्रविधि र सीप सिकाइलाई अवलम्बन गर्न आवश्यक भएको बताए । मुख्यमन्त्री आचार्यले भूकम्पको विपद् पूर्वसूचना गरेर नआउने भएकाले पूर्व तयारी र सतर्कता सधैँ चुस्त राखिनु पर्नेमा जोड दिए ।
उनले आर्जित ज्ञानलाई सतर्कता र तयारीको काममा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । विद्यार्थीहरूले गरेको खोज तथा अनुसन्धानको उनले प्रशंसा पनि गरेका छन् ।
विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्दै जोखिम न्यूनीकरणका उपायप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका करिब ३५ वटा विद्यालयका ४ हजार विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ ।







