काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि शुक्रबार हेटौँडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरको स्थापना गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका-११, थानाभर्याङस्थित प्रादेशिक कृषि थोक बजारको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन, कार्यालय मकवानपुरले जनाएको छ ।
प्रादेशिक कृषि थोक बजारको भवनमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ र निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत न्यायधिश गिता श्रेष्ठ, निर्वाचन अधिकृत जिल्ला न्यायधिवक्ता देवेन्द्र आचार्य, बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटी लगायतकाको उपस्थिति रहेको थियो ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा तीन लाख १५ हजार ३३४ जना मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर दुईमा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । महिला एक लाख ५३ हजार ३७६, एक लाख ६१ हजार ९५३ पुरुष र पाँच जना अन्य मतदाता रहेका छन् । १०२ वटा वडा रहेको मकवानपुरमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र रहेको रहेको छ ।







