काठमाडौँ । पूर्व शिक्षामन्त्री विद्या भट्टराईले स्थानीय तहका जनप्रतिनिधिले कार्यकाल पूरा नगरी राजीनामा दिएर प्रतिनिधि सभा उम्मेदवार बन्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको बताएकी छन्।
प्रतिनिधि सभा सदस्यले ५ वर्षका लागि शपथ लिए पनि कार्यकाल पूरा गर्न नपाएको भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सुरक्षित भएको बताएकी छिन्। लोकतन्त्र नारामा मात्र नभई व्यवहारमा पनि प्रस्तुत गर्ने सोच विकास गर्नुपर्ने उनले बताइन् ।
‘प्रतिनिधि सभाका सदस्यहरूले ५ वर्षका लागि शपथ लिए पनि कार्यकाल पूरा गर्न पाएनन्। स्थानीय तह त ५ वर्षका लागि सुरक्षित छ नि,’ उनले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘आफ्नो कार्यकाल पूरा नहुँदै धमाधम राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवारी दिनु लोकतान्त्रिक मूल्य, विधि र मान्यता विपरीत होइन र ? लोकतन्त्र नारा मात्र होइन, व्यवहार पनि हो र त्यो व्यवहार आफैबाट प्रस्तुत गर्नुपर्दछ भन्ने सोच सबैले विकास गरौँ ।’
नेकपा एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवार टुंगो लगाएपछि पार्टीका पूर्वकेन्द्रीय सदस्य भट्टराईले आइतबार उक्त धारणा राखेकी हुन्।







