काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालले धान तथा चामल आयातमा २० अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ, जसले मुख्य खाद्यान्नमा परनिर्भरता कायमै रहेको छ।
भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि पुससम्मको अवधिमा कुल २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धान र चामल मुलुकमा भित्रिएको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी हो।
गत वर्षको पहिलो छ महिनामा नेपालले १९ अर्ब ९ करोड ९६ लाख रुपैयाँ बराबरको धान चामल आयात गरेको थियो। त्यसको तुलनामा चालु आवमा आयात मूल्य करिब ६ दशमलव ७३ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ।
चालु आवको पुससम्म बासमती चामल आयातमा उल्लेख्य वृद्धि भएको छ। यस अवधिमा ४ अर्ब २७ करोड १२ लाख रुपैयाँ बराबरको बासमती चामल आयात भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो परिमाण ३ अर्ब ७६ करोड ७३ लाख रुपैयाँमा सीमित थियो।
त्यसैगरी अर्ध–पालिस तथा पूर्ण पालिस गरिएका अन्य चामलको आयात पनि बढेको देखिन्छ। गत वर्ष ४ अर्ब ९० करोड ५६ लाख रुपैयाँ बराबरको यस्तो चामल आयात भएकोमा यस वर्ष सो रकम ६ अर्ब २ करोड ६ लाख पुगेको छ।
यद्यपि प्रशोधित चामल आयात बढे पनि धान आयातमा भने केही गिरावट देखिएको छ। गत वर्ष छ महिनामा १० अर्ब ४२ करोड ४४ लाख रुपैयाँ बराबरको २७ करोड ५५ लाख किलो धान आयात भएकोमा यस वर्ष मूल्य घटेर ९ अर्ब ८७ करोड ९ लाख र परिमाण २७ करोड ७ लाख किलोमा सीमित भएको छ।
बिउ प्रयोजनका लागि धान आयात भने चालु आवमा वृद्धि भएको छ। यस वर्ष सो प्रयोजनका लागि २२ लाख ८३ हजार रुपैयाँ बराबरको धान आयात भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा ६० किलो बिउका लागि मात्र ४ हजार रुपैयाँ खर्च भएको थियो।
कनिका आयातमा भने अत्यधिक वृद्धि देखिएको छ। गत वर्ष पहिलो छ महिनामा १७ लाख ५४ हजार रुपैयाँ बराबरको कनिका आयात भएकोमा यस वर्ष ५३ लाख ३० हजार किलोभन्दा बढी परिमाणको २२ करोड ७ लाख ६८ हजार रुपैयाँ बराबरको कनिका भित्रिएको छ।
आयातको कुल मूल्य बढे पनि धान चामलबाट संकलन हुने राजस्व भने घटेको छ। गत वर्ष यस शीर्षकबाट १ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ राजस्व उठेकोमा चालु आवमा घटेर १ अर्ब ४४ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ।







