काठमाडौँ । ओखलढुंगाबाट प्रतिनिधिसभा निर्वाचनमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी पिंकी राई उम्मेदवारका रूपमा मैदानमा उत्रिएकी छन्।
उनी समावेशी समाजवादी पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धामा सहभागी भएकी हुन्।
उनको उम्मेदवारीलाई जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता विस्तार गर्ने र प्रतिनिधित्वलाई संस्थागत गर्ने अवसरका रूपमा हेरिएको छ।
लामो समयदेखि सामाजिक बहिष्करण र विभेदको सामना गर्दै आएको समुदायका मुद्दा र सरोकार संसदमा उठाउने उद्देश्यसहित आफू निर्वाचन प्रक्रियामा सहभागी भएको राईले बताएकी छन्।
राजनीतिमा समावेशिता र प्रतिनिधित्वको अभ्यासलाई सुदृढ बनाउने दिशामा राईको उम्मेदवारीलाई एक महत्वपूर्ण पहलका रूपमा लिइएको छ।
समावेशी समाजवादी पार्टीका अनुसार पार्टीले देशका छ वटा निर्वाचन क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ उम्मेदवार अघि सारेको हो।







