काठमाडौँ । नेपाल र साउदी अरबबीच नेपाली श्रमिकको भर्ना र रोजगारी व्यवस्थापनसम्बन्धी श्रम सम्झौता आज साउदी अरबको राजधानी रियादमा औपचारिक रूपमा हुने भएको छ। यो सम्झौता दुवै देशबीच पहिलो पटक श्रम क्षेत्रमा संस्थागत सहकार्य स्थापना गर्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।
सम्झौतामा हस्ताक्षरका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी तीन सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउदी अरब प्रस्थान गरेका छन्। उक्त सम्झौतामा नेपाली पक्षबाट मन्त्री भण्डारी र साउदी अरबका मानव संशोधन तथा सामाजिक विकास मन्त्री अहमद विन सुलेमान अल-राजहीले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।
नेपाली श्रमिकको प्रमुख रोजगारी गन्तव्य मुलुक मानिने साउदी अरबसँग श्रम सम्झौता गर्ने प्रयास करिब एक दशकअघिदेखि मस्यौदा तहमा सीमित रहँदै आएको थियो। सन् २०१८ देखि मानव संशोधन तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका अल-राजहीसँग यसअघि पनि श्रम सहकार्यबारे विभिन्न तहमा छलफल हुँदै आएको थियो।
गत जेठको अन्त्यतिर जेनेभामा भएको भेटघाटका क्रममा तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी र साउदी अरबका अन्तर्राष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबीच घरेलु श्रमिकसम्बन्धी व्यवस्था पछि समेट्ने गरी सामान्य श्रम सम्झौता अघि बढाउने सहमति बनेको थियो। घरेलु श्रमिकसम्बन्धी छुट्टै सम्झौताका लागि थप तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
प्रस्तावित श्रम सम्झौताले साउदीको श्रम बजारमा जाने नेपाली श्रमिकका लागि अवसर विस्तार गर्नुका साथै भर्ना प्रक्रियालाई पारदर्शी बनाउँदै मानव तस्करी नियन्त्रण, श्रमिक र रोजगारदाताबीचका अधिकार तथा दायित्वको स्पष्टता र सम्मानलाई सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का मापदण्डलाई आधार मानी सम्झौता तयार गरिएको हो। यसले साउदीको श्रम कानुनअनुसार नेपाली श्रमिकको पारिश्रमिक सुरक्षादेखि दोहोरो करारपत्रको अन्त्य, अत्यधिक लागत नियन्त्रण, वैदेशिक रोजगार व्यवसायीबाट हुने ठगी न्यूनीकरण तथा श्रमिकको न्यायमा पहुँचजस्ता विषयलाई समेट्ने जनाएको छ।
हाल साउदी अरबमा करिब चार लाख नेपाली श्रमिक कार्यरत छन्, जसमा निर्माण र सेवा क्षेत्रको संख्या बढी छ। पछिल्ला १० वर्षको अवधिमा साउदीमा रोजगारीका लागि गएका नेपालीको संख्या १३ लाख ५२ हजारभन्दा बढी पुगेको छ, जसमा करिब १ लाख ११ हजार महिला श्रमिक रहेका छन्। आर्थिक वर्ष २०८१-८२ मा पुनः श्रम स्वीकृतिसहित एक लाख ५२ हजार नेपाली साउदी गएको मन्त्रालयको तथ्यांक छ। साथै पछिल्ला दुई आर्थिक वर्षमा साउदी अरबमा कार्यरत ६ सय ८४ नेपाली श्रमिकको मृत्यु भएको विवरण श्रम मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ।







