काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत, वडा सचिव र वडा अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आज इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेमबहादुर खवास, राजपुर गाउँपालिका वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, वडा सचिव राजेश कुमार कहारसहित ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूमाथि उपर गलत लिखत तयार गरी सरकारी कागजात सच्याएर भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।
प्राप्त उजुरीअनुसार वडा सचिव र वडा अध्यक्षले भारतीय नागरिक आलम जोल्हाबाट रकम लिई गैर कानुनी रूपमा नेपाली नागरिकता दिलाएको आरोपमा अनुसन्धान गरिएको थियो। अनुसन्धानबाट राजपुर गाउँपालिका वडा नं. ४, दाङका तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, कार्यालय सहायक मिना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडा सचिव राजेश कुमार कहार, इलाका प्रशासन कार्यालय लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवास तथा आएसा जोल्हा र आलम जोल्हासमेतको मिलेमतो रहेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार नागरिकता प्राप्त गर्न अयोग्य गैर नेपाली व्यक्ति आलम जोल्हालाई जिल्ला दाङ, राजपुर गाउँपालिका वडा नं। ४ का स्थायी बासिन्दा स्वर्गीय सनाउल्ला जोल्हाको छोरा देखाई गैर कानुनी रूपमा नागरिकता दिलाउने उद्देश्यले विभिन्न सरकारी कागजातहरूमा हेरफेर गरिएको थियो। सनाउल्ला जोल्हाको २०३८/०१/१५ गते नै मृत्यु भइसकेको भए पनि २०४१/०१/१५ गते मृत्यु भएको भनी झुट्टा ब्यहोराको मृत्यु दर्ता प्रमाणपत्र तयार गरिएको, साथै आलम जोल्हा २०३९/११/२५ गते जन्मिएको भनी झुट्टा जन्म दर्ता प्रमाणपत्र बनाइएको आयोगको आरोप छ।
त्यसै गरी, आएसा जोल्हाले आलम जोल्हा आफ्नो सहोदर भाइ भएको भनी झुट्टा सनाखत गराएको, वडा अध्यक्षले सोही आधारमा सिफारिस गरेको र उक्त सिफारिसका आधारमा तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवासले आवश्यक जाँचबुझ नगरी नागरिकताको प्रमाणपत्र जारी गरेको आयोगको ठहर छ।
उक्त झुट्टा कागजातको आधारमा आलम जोल्हालाई मिति २०७५/०८/२८ गते नागरिकता प्रमाणपत्र नं. ५२-०६-७५-०३८२६ जारी गरिएको देखिएकाले सो कार्यमा संलग्न सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।









