काठमाडौँ । नेपालका लागि भारतको कूटनीतिक नियोगले भारतको ७७औँ गणतन्त्र दिवसका अवसरमा औपचारिक कार्यक्रम आयोजना गरेको छ ।
लैनचौरस्थित भारतीय राजदूतावास परिसरमा सोमबार सम्पन्न समारोहमा कार्यवाहक राजदूत डा। राकेश पाण्डेले राष्ट्रिय झण्डा आरोहण गरेका थिए । कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा व्यक्त गरेको सन्देशको भिडियो प्रस्तुति गरिएको थियो ।
सो अवसरमा भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती तथा निकट पारिवारिक सदस्यहरूलाई सम्मान गरिएको थियो । उनीहरूलाई आर्मी ग्रुप इन्स्योरेन्स फन्डमार्फत सात करोड २० लाख रुपैयाँभन्दा बढी बराबरको बैंक चेक हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।
कार्यक्रममा पछिल्लो एक वर्षको अवधिमा भारत-नेपाल सम्बन्धमा हासिल भएका महत्वपूर्ण उपलब्धिहरू समेटिएको दृश्य सामग्री प्रस्तुत गरिएको थियो । साथै राजदूतावासअन्तर्गत सञ्चालनमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरू र नेपाली कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।







