काठमाडौँ । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरू आज नेकपामा समाहित हुने भएका छन्।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्वमा पार्टी छाडेका नेता कार्यकर्ता आज नेकपामा समाहित हुन लागेका हुन्।
सुनारसहित केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला सङ्गठन सुदूर प्रदेश संयोजक यसोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनारलगायत नेताहरूले हिजो पार्टी छाडेको घोषणा गरेका थिए।
उनीहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव नेपालले आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने कार्यक्रममार्फत स्वागत गर्ने तयारी भएको छ।







