काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो अर्धशैन्य संरचना योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाललाई सक्रिय बनाएको छ।
आइतबार भर्चुअल बैठक गरेर वाईसीएलको केन्द्रीय समिति बैठकले सक्रिय बनाउने निर्णय गरेको हो। चुनावअघि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स (एसटीएफ) क्याम्पिङ गरेर राखिने वाईसीएलका अध्यक्ष पुष्प ओलीले बताए।
यससँगै अन्तरपार्टी युवा, विद्यार्थी र जेन जेडको संयोजन गरेर संयन्त्र निर्माण गर्ने निर्णय भएको छ। सबै प्रदेशमा एकतामा आएका युवा संगठनका नेता सम्मिलित कमान्ड सेन्टर निर्माण गर्ने पनि निर्णय भएको अध्यक्ष ओलीले जानकारी दिए।
उनका अनुसार, ‘एक बुथ, सय युथ’ नारा दिएर सबै बुथमा खटाइने भएको छ। त्यस्तै, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने, मतदान क्षेत्रका युवालाई सम्बन्धित क्षेत्रमा नै खटाउने वाईसीएलले तयारी गरेको छ।
वाईसीएलको केन्द्रीय समिति बैठकलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिाखले सम्बोधन गरेका थिए। उनीहरूले चुनावलाई सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।







