काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको निर्वाचन बहुचरणमा नभई एकै पटक देशभर सञ्चालन गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।
बुधबार काठमाडौँस्थित स्वयम्भू क्षेत्रको मुस्ताङ गुम्बामा आयोजित कार्यक्रममा मुस्ताङबाट नेकपाका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’को औपचारिक परिचय गराउने क्रममा उनले यस्तो मत राखेका हुन्। उनका अनुसार निर्वाचन प्रक्रिया सरल, व्यवस्थित र विश्वसनीय बनाउन एकै चरणमा मतदान गर्नु व्यवहारिक विकल्प हुन सक्छ।
यसअघि हिमाली भेगमा सम्भावित हिमपातका कारण आवश्यकता परे दोस्रो चरणमा निर्वाचन गर्न सकिने संकेत प्रधानमन्त्री सुशीला कार्कीले दिएको सन्दर्भप्रति ध्यानाकर्षण गर्दै संयोजक दाहालले यस्तो व्यवस्थाले निर्वाचन प्रक्रियामा अन्योल बढाउन सक्ने संकेत गरे। उनले समग्र देशको अवस्थालाई मध्यनजर गर्दै एउटै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए।
संयोजक दाहालले वर्तमान परिस्थिति सामान्य निर्वाचनको अवस्था नभएको उल्लेख गर्दै विशेष संवेदनशीलता र तयारी आवश्यक रहेको धारणा राखे। अझै पनि निर्वाचन तोकिएको समयमा हुन्छ वा हुँदैन भन्ने विषयमा आशंका देखिएको भन्दै उनले सरकारलाई समयमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।







