रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रौतहट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले प्रयोग गर्ने भनिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया नाबालिकाको मृत्यु भएको छ।
जिल्लाको ईशनाथ नगरपालिका–४, मठिया टोलकी करिब ४ वर्षीया अल्फा खातुन सवारी दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। मृतक नाबालिका सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले नाबालिकालाई ठक्कर दिएको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुर्घटनापछि घाइते नाबालिका र उनकी आमालाई सोही सवारी साधनमार्फत अस्पताल पुर्याइएको थियो।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ। उनका अनुसार दुर्घटनाका बेला उम्मेदवार शेख सगिर स्वयं सवारी साधनमा सवार थिए वा थिएनन् भन्ने विषय अहिलेसम्म पुष्टि भइसकेको छैन। ‘उहाँ घरदैलोमा रहेको भन्ने बुझिएको छ’, प्रजिअ भुसालले भने ।
सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रही थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।
रौतहट प्रहरीले सवारी चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न पक्षमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट नाबालिकाको मृत्यु भएको घटनाप्रति पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा मृतक नाबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै, घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासन र अनुसन्धान निकायलाई पूर्ण सहयोग गर्ने पार्टीको प्रतिबद्धता व्यक्त गरिएको छ।
पार्टीले कानुनी प्रक्रियाअनुसार पीडित परिवारलाई न्याय दिलाउन पहल गर्ने तथा राहत र सहयोगका विषयमा आवश्यक सहजीकरण गरिने पनि जनाएको छ। साथै, उम्मेदवार तथा पार्टीसम्बद्ध व्यक्तिहरूलाई सवारी साधन सञ्चालनका क्रममा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।








