काठमाडौँ । सङ्खुवासभामा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्रको अनुगमनलाई तीव्र बनाइएको छ ।
यसक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीले मतदान स्थल र मतदान केन्द्रको अनुगमनलाई जारी राखेका छन् । यसक्रमा टोलीले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा चुनौतीदेखि मतपेटिका व्यवस्थापन र मतदाताको सुरक्षालगायतका विषयमा जानकारी लिएको छ ।
निर्वाचनको समय नजिकिँदै जाँदा गाउँमा चुनावी उत्साह एवं चहलपहल बढिरहेको छ । विभिन्न कारणले गाउँबाहिर रहेकाहरू घर फर्कन थालेका छन् । उम्मेदवारहरू चुनावी ‘एजेण्डा’ लिएर मतदाताको घरदैलोमा पुगेका छन् ।
यही अवस्थामा जिल्ला सुरक्षा समिति प्रत्येक मतदान केन्द्र र मतदान स्थलको अनुगमन गरेर जोखिमको विश्लेषण गरिरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहअन्तर्गत मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन सकिएको प्रमुख जिल्ला अधिकारी थपलियाले जानकारी दिइन् । मादी र धर्मदेवी नगरपालिकाबाहेक अन्य अधिकांश मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन सकिएको उनले बताइन् ।
भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चार, खानेपानी, बिजुलीसहितका आधारभूत विषयहरूको व्यवस्थापनका लागि समन्वयसमेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी थपलियाले भनिन्, “निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष र भयरहित बनाउन उच्च प्राथमिकताका साथ काम गरिरहेका छौँ । ”
जिल्लामा १०९ मतदान स्थल र १६४ मतदान केन्द्र छन् । जिल्लामा अति संवेदनशीलता आठ, संवेदनशील ८२ र सामान्य १९ छन् । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदान स्थल तथा केन्द्र छुट्याइएको छ । अति संवेदनशील, संवेदनशील र सामान्य मतदान स्थललाई हेरेर सुरक्षा रणनीति बनाइएको छ ।
एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको सुरक्षाका लागि जिल्लाका तीन वटै सुरक्षा निकायको एकीकृत योजनालाई कार्यान्वयन गरिइएको छ ।
मतदान स्थल अनुगमनमा क्रममा प्रमुख जिल्ला अधिकारी थपलिया सहित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजकुमार कोइराला, आचारसंहिता अनुगमन अधिकृत चिरञ्जीवी अधिकारी, प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इन्द्र दल गुल्मका सहसेनानी बाबुकाजी बस्नेत, राष्ट्रिय अनुसन्धानका प्रमुख रामअचल साहलगायतको सहभागिता थियो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित एक लाख १९ हजार ६३० मतदाता छन् । निर्वाचनका लागि जिल्लामा तीन महिलासहित १६ चुनावी मैदानमा छन् । जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा उत्रिएका छन् ।







