काठमाडौँ । आसन्न निर्वाचनलाई लक्षित गर्दै गोरखा सदरमुकामस्थित एक मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्वमा मतदान व्यवस्थापन गरिने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा नगरपालिका-७ नयाँबजारमा रहेको सिटीहल मतदान स्थलभित्रका दुईमध्ये ‘क’ मतदान केन्द्रलाई नमुना केन्द्रका रूपमा सञ्चालन गर्ने निर्णय गर्दै सम्पूर्ण जनशक्ति महिलाबाट परिचालन गरेको जनाएको छ।
कार्यालयका अनुसार करिब ७०० मतदाता रहेको उक्त मतदान स्थलमा दुई मतदान केन्द्र रहेका छन्। नमुना केन्द्रमा मतदान अधिकृतदेखि सहायक कर्मचारी, स्वयंसेवक, सहयोगी कर्मचारी तथा सुरक्षाकर्मी समेत महिला मात्र खटाइने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतम ले जानकारी दिएका छन्। उनले महिला नेतृत्वबाट शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गरे।
उक्त केन्द्रमा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाकी जनस्वास्थ्य प्रशासक सिम्रन काफ्ले को नेतृत्वमा छ जना महिला कर्मचारी खटाइएको जनाइएको छ। सहायक मतदान अधिकृतको जिम्मेवारी गोरखा जिल्ला अदालतकी नायब सुब्बा देवीकुमारी शर्मा ले सम्हाल्नेछिन्। सहायक कर्मचारीमा बारपाक सुलिकोट गाउँपालिकाकी महिला विकास निरीक्षक इन्दिरा बराल, सहिद लखन गाउँपालिकाकी सामाजिक परिचालक सुनिता थापा तथा ढुंगागाढे आधारभूत विद्यालयकी शिक्षिका विनु विक रहनेछन्। सहयोगी कर्मचारीका रूपमा जिल्ला सरकारी वकिल कार्यालयकी कार्यालय सहायक शान्ता थापा खटाइने बताइएको छ।
सुरक्षा व्यवस्थापन पनि महिला सुरक्षाकर्मीबाटै सञ्चालन गरिने जिल्ला प्रहरी प्रमुख भरत विक ले जानकारी दिएका छन्। महिला प्रहरी सहायक निरीक्षकको नेतृत्वमा निर्वाचन सुरक्षा परिचालन हुने जनाइएको छ।
महिला नेतृत्व सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाभर रहेका ३३३ मतदान केन्द्रमध्ये एकलाई नमुना केन्द्रका रूपमा सञ्चालन गर्ने नीति अपनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गोरखामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत २२५ मतदान स्थलमा ३३१ स्थायी र दुई अस्थायी गरी ३३३ मतदान केन्द्र रहेका छन्। प्रत्येक केन्द्रमा न्यूनतम छ जना कर्मचारीका दरले कुल एक हजार ९९२ कर्मचारी परिचालन गरिएको छ।
यसअघि सोमबार र मंगलबार मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि ६६६ जनालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको कार्यालयले जनाएको छ।







