काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समाचारमा आएजस्तो कुनै पनि राजनीतिक दलहरूसँग पार्टीले चुनावी तालमेल नगरेको स्पष्ट पारेका छन् ।
शनिबार झापाको बाह्रदशीस्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरी चुनावमा होमिएको स्पष्ट पारेका हुन् ।
राप्रपा मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै देश र जनता जोगाउने हो भने यो ब्यबस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भूमरीमा फस्ने दाबी उनको थियो ।
लिङ्देनले राप्रपालाई भोट हालेको कारण कहिल्यै पछुताउनु नपर्ने पनि बताए ।
‘सिंहदरबार जलाउने र सिंहदरबार जोगाउन नसक्नेको बीचमा राप्रपा बेग्लै पहिचान बोकेर अगाडि बढेको छ,’ अध्यक्ष लिङ्देनले भने, ‘भोट दिन मन नलागे नदिनुस्, तर यस क्षेत्रमा केही काम नै भएको छैन चाहि नभन्नुस् ।’
आगामी फागुन २१ गते हुने निर्वाचनमा बहुमत दिन आम मतदातालाई अपिल समेत गरे ।
अध्यक्ष लिङ्देनले आगामी संसदमा बलियो राप्रपा चाहिने हुँदा सोचविचार गरेर मतदान गर्न मतदातालाई आग्रह गरे ।







