काठमाडौँ । केपी शर्मा ओलीले मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै नागरिकलाई आफ्नो राजनीतिक र नैतिक अवस्थिति प्रष्ट रूपमा निर्धारण गर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका उनले मतदातामाझ प्रसारित भिडियो सन्देशमार्फत् राष्ट्रिय हितसँग जोडिएका विषयमा स्पष्ट धारणा बनाउन आह्वान गरेका हुन् ।
उनले राष्ट्रको दीर्घकालीन भविष्य, स्थायित्व र संस्थागत व्यवस्थाको संरक्षणसँग सम्बन्धित विषयमा नागरिकले अब मौन बस्न नहुने उल्लेख गरे । आफ्नो अभिव्यक्ति र निर्णयप्रति भविष्यमा आत्मग्लानि नहोस् भन्ने सन्देश दिँदै उनले नागरिक जिम्मेवारी वहन गर्ने समय आएको बताए ।
पूर्वप्रधानमन्त्री ओलीले निर्वाचित सरकारविरुद्ध अस्थिरता निम्त्याउने गतिविधि भएको दाबी गर्दै त्यस क्रममा प्रतिनिधि सभा विघटनसम्मको अवस्था सिर्जना गरिएको प्रसंग उल्लेख गरे । उनले वर्तमान सन्दर्भमा नागरिकले शान्त र विवेकपूर्ण ढङ्गले मुलुकको संरक्षण गर्ने वा नगर्ने भन्ने प्रश्नमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने आवश्यकता औँल्याए ।
विगतमा आफ्नाविरुद्ध विभिन्न भ्रम र आरोपहरू फैलाइएको स्वीकार गर्दै उनले आफूबाट केही कमजोरी भएको हुन सक्ने संकेत गरे । तथापि राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानका सवालमा कुनै प्रकारको सम्झौता नगरेको र नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नो राजनीतिक सक्रियता भावी पुस्ताको हितका लागि केन्द्रित रहेको उल्लेख गर्दै उनले संविधान, कानुन र संस्थागत व्यवस्थालाई प्राथमिकतामा राख्ने संस्कार सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे । ‘देश पहिले’ भन्ने अवधारणालाई उनले संविधानको पालन, विधिको शासन, भूमि र जनताको संरक्षण तथा सार्वजनिक सम्पत्तिको सुरक्षासँग जोडेर व्याख्या गरे ।
उनका अनुसार प्रशासनिक केन्द्र, न्यायिक निकाय, संसद् भवन, सडक पूर्वाधार, सरकारी कार्यालय र सुरक्षा संरचना नागरिकको कर र विश्वासबाट निर्माण भएका सम्पत्ति हुन् । यस्ता संरचनामा क्षति पुग्दा केवल भौतिक संरचना मात्र नभई नागरिकको भरोसा र आकांक्षा समेत प्रभावित हुने तर्क उनले राखे । त्यसैले यस्ता संरचना पुनः क्षति नहुने सुनिश्चितता आवश्यक रहेको उनले बताए ।
राष्ट्रिय स्वाधीनता, सीमाको सम्मान र पहिचानप्रति गर्व गर्ने चेतनालाई आत्मबलको स्रोतका रूपमा उल्लेख गर्दै उनले स्वाभिमान नझुक्ने वातावरण निर्माण गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरे ।







