काठमाडौँ । आगामी निर्वाचनको सुरक्षा तयारी र व्यवस्थापनको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल सुदूरपश्चिम पुगेका छन् ।
आइतबार हेलिकप्टरमार्फत बझाङ पुगेका मन्त्री अर्यालले जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिसँग छलफल गर्दै निर्वाचन तयारी र व्यवस्थापनबारे जानकारी लिएका थिए। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपलब्ध स्रोत-साधनको अधिकतम प्रयोग गरी निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गरिने बताएका छन्।
उनका अनुसार विगतका निर्वाचनमा देखिएका धाँधली, अरूको नाममा मतदान, मृतकका नाममा मत हाल्ने तथा बुथ क्याप्चरजस्ता गतिविधि यसपटक दोहोरिन नदिइने छ। बझाङको भौगोलिक विकटता र विगतमा देखिएका राजनीतिक जटिलतालाई ध्यानमा राख्दै सुरक्षा रणनीति मजबुत बनाइने उनले स्पष्ट पारे।
निर्वाचनविरुद्ध गतिविधि गर्ने जो-कोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारी, मतदाता, उम्मेदवार वा कार्यकर्ता-कसैले पनि कानुन उल्लंघन गरे कानुनी दायरामा ल्याइने बताए।
संवाद र समन्वयमार्फत सम्भावित समस्या समाधान गर्ने प्रयास गरिने उल्लेख गर्दै उनले आवश्यक परे नियन्त्रणमा लिनसमेत पछि नहट्ने बताएका छन्। साथै, सबै सरोकारवाला पक्षलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेका छन्।







