काठमाडौँ । सरकारले विपद्का कारण संरक्षणको जोखिममा परेका बालबालिकालाई परिवारबाट अलग नगरी १८ वर्ष उमेर नपुगेसम्म शिक्षा, स्वास्थ्य र पालनपोषणको सुनिश्चितता गर्ने गरी दीर्घकालीन स्याहार योजना सुरु गरेको छ ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादीले बिहीबार (आज) रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५, गोल्जुङबेसी पुगेर भोटेकोशीको बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी महिलाको कुमारी बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरी कार्यक्रमको औपचारिक सुरुवात गरेकी हुन् ।
दुई साताकी नवजात छोरीसहित रहेकी ती महिलाले छोरी १८ वर्ष उमेर नपुगेसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता प्राप्त गर्नेछिन् ।
सरकारको ‘विपद् प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना’ अन्तर्गत यो सहायता उपलब्ध गराइएको हो । राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआईटीजीएफबीच उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरी महिलाका लागि तय गरिएको विशेष सहायता प्याकेजअन्तर्गत कार्यक्रम अघि बढाइएको हो ।
मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकाका लागि भने एमआईटीजीएफ, एसओएस चिल्ड्रेनलगायत साझेदार संस्थासँगको सहकार्यमा छुट्टाछुट्टै सहायता प्याकेज कार्यान्वयन गरिनेछ ।
८१० बालबालिकाका लागि सहायता प्याकेज
मन्त्री वादीका अनुसार विपद्का कारण बाबुआमा दुवै वा कुनै एक गुमाएका तथा आफू वा आफ्ना संरक्षक घाइते वा अपाङ्गता भएका कारण संरक्षणको जोखिममा परेका बालबालिकालाई व्यक्तिगत स्याहार योजना तयार गरी सहयोग उपलब्ध गराइनेछ ।
राष्ट्रिय बाल अधिकार परिषद्सँग हाल एमआईटीजीएफमार्फत १५०, एसओएसमार्फत ६५० र प्रविना फाउन्डेशनमार्फत १० गरी कुल ८१० बालबालिकाको दीर्घकालीन स्याहारमा योगदान गर्ने सहायता प्याकेज उपलब्ध छ ।
मन्त्रालयको बालकोषमा सात करोड रुपैयाँ रहेको छ भने बाढी प्रभावित बालबालिकाको सहयोगका लागि नेपाल सरकार र एमआईटीजीएफबीच ५८ करोड रुपैयाँ बराबरको सम्झौता भइसकेको छ । सेवा प्रदायक संस्थाबाट प्रस्ताव प्राप्त हुने क्रम जारी रहेको र त्यसका लागि तेस्रोपटक सूचना जारी गरिएको छ ।
स्थलगत लेखाजोखाका लागि पाँच टोली परिचालन
विपद् प्रभावित बालबालिकाको अवस्था पहिचान तथा व्यक्तिगत स्याहार योजना तयार गर्न राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य-सचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा गत सातादेखि पाँच वटा टोली परिचालन गरिएको छ ।
रसुवा र नुवाकोटमा तीन तथा काठमाडौँ उपत्यकामा दुई वटा टोली खटिएका छन् । युनिसेफ नेपाल, एमआईटीजीएफ र एसओएसलगायत संस्थाको सहकार्यमा बालबालिकाको घरमै पुगेर आवश्यक सहायता निर्धारण गर्ने काम भइरहेको छ ।
विपद्पछि पहिलो चरणमा द्रुत लेखाजोखा, दोस्रो चरणमा लेखाजोखा सहजीकरण र तेस्रो चरणमा सहायता निर्धारण सहजीकरणका लागि टोली परिचालन गरिएको हो । गोल्जुङबेसीमा पनि स्थलगत टोलीले विस्तृत अध्ययन तथा लेखाजोखा सम्पन्न गरेपछि सहायता उपलब्ध गराइएको हो ।
बालगृहलाई अन्तिम विकल्प बनाउने नीति
मन्त्री वादीले बालबालिकालाई परिवारमै सुरक्षित रूपमा हुर्काउने व्यवस्था सरकारको प्राथमिकतामा रहेको बताएकी छन् ।
अनधिकृत रूपमा बालबालिकालाई बालगृहमा लैजाने प्रवृत्ति नियन्त्रण गर्दै संस्थागत संरक्षणलाई अन्तिम विकल्पका रूपमा राख्ने सरकारको उद्देश्य छ । कानुनविपरीत बालगृहमा पुर्याइएका २७ जना बालबालिकालाई हालसम्म परिवारसँग पुनर्मिलन गराइएको छ ।
अस्थायी संरक्षण केन्द्रबाट ४९ बालबालिका लाभान्वित
भदौ १० गतेको विपद्पछि सरकारले ललितपुरको ठेचोमा सञ्चालनमा ल्याएको अस्थायी संरक्षण केन्द्रबाट हालसम्म ४९ जना बालबालिकाले सेवा प्राप्त गरेका छन् ।
केन्द्रमार्फत आवास, खानपिन, परामर्श, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग तथा पारिवारिक पुनर्मिलनसम्बन्धी सेवा उपलब्ध गराइँदै आएको छ ।
परिवार वा नातेदारको संरक्षणमा पठाउन नसकिएका नौ जना बालबालिकालाई भने आवश्यक लेखाजोखा र सम्बन्धित गाउँपालिकाको सिफारिसका आधारमा राष्ट्रिय बाल अधिकार परिषद्मा सूचीकृत सेवा प्रदायक निकायमा पठाइएको छ ।






