काठमाडौँ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका पदमप्रसाद पाण्डेले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्।
पाण्डेले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेकपा (एमाले) का उम्मेदवार शंकर पोखरेललाई समर्थन गर्ने निर्णय गरेको स्पष्ट पारिएको छ। विज्ञप्तिमा यस कदमको उद्देश्य राष्ट्र हित, दाङको दीर्घकालीन विकास र समृद्धि सुनिश्चित गर्नु भएको बताइएको छ।
स्रोतका अनुसार, पाण्डेले पोखरेललाई दाङको विकासका लागि आवश्यक दृष्टि, अनुभव र नेतृत्व क्षमता भएको उम्मेदवारको रूपमा मूल्यांकन गरेका छन्। पोखरेलको निर्वाचित भएमा अधुरा पूर्वाधार योजना, औद्योगिक विस्तार, रोजगार सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रगति हुने विश्वास व्यक्त गरिएको छ।
यसैगरी, पाण्डेले आफ्नो अगाडि राखेका विकास प्राथमिकताहरू पनि पोखरेलको नेतृत्वमा मूर्त रूप लिनेमा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।








