काठमाडौँ । नेपाली सेनाले प्रतिनिधि सभाको निर्वाचनमा एकीकृत सुरक्षा योजना अनुसार आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको जनाएको छ।
आज अपिल जारी गर्दै सेनाले आफ्नो गैर-राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवालासँगको समन्वयमा काम गरिरहेको जनाएको छ।
अपिलमा भनिएको छ, ‘आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेनाले आफ्नो गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौँ ।’
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अंग एवं सरोकारवाला निकायहरू एकीकृत र समन्वयात्मक ढङ्गले कार्य गरिरहेको अवस्थामा प्रसारित असान्दर्भिक र अतिरञ्जित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ।
अपिलमा भनिएको छ, ‘सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनाहरूमा विश्वास नगर्नरनगराउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।’







