काठमाडौँ । रौतहटको गौरस्थित कारागार कार्यालयमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान प्रक्रिया सम्पन्न भएको छ। कारागारमा रहेका कैदीबन्दीमध्ये सूचीकृत मतदाताले मताधिकार प्रयोग गरेका हुन्।
कारागारमा हाल २०८ कैदीबन्दी छन्, जसमा १९९ पुरुष र ९ महिला छन्। तीमध्ये ६३ जना पुरुष कैदीबन्दी मतदाता सूचीमा समावेश थिए। तर दुई जना भर्खरै कैदमुक्त भएकाले ६१ जनाले मात्रै मतदान गरेको जनाइएको छ ।
मतदानका लागि उक्त केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी खटिएका थिए।
यसैगरी मतदान कर्मचारी बाहेक कारागारका कर्मचारी, निर्वाचनका लागि खटिएका प्रहरी तथा नेपाली सेनासहित २२ जनाले पनि सोही केन्द्रबाट मतदान गरेका छन्।







