काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र संगठनात्मक पुनर्संरचनासम्बन्धी बहस सुरु भएको छ। पार्टीको नाम, चुनाव चिन्ह तथा नेतृत्व संरचनामा परिवर्तन आवश्यक रहेको विषय औपचारिक रूपमा उठाइएको छ।
पार्टीका महामन्त्री शरदराज पाठकले संगठनलाई प्रभावकारी राष्ट्रिय शक्तिका रूपमा विकास गर्न व्यापक पुनरावलोकन अपरिहार्य रहेको बताएका छन्। उनका अनुसार विश्वासिलो, प्रभावकारी र रूपान्तरणमुखी राजनीतिक शक्तिका रूपमा स्थापित हुन पार्टीको नामदेखि चुनाव चिन्ह तथा केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्व संरचनासम्म पुनर्संरचना आवश्यक छ।
हाल पार्टीको चुनाव चिन्ह ‘हलो’ रहेको र अध्यक्षको जिम्मेवारी राजेन्द्र लिङ्देनले सम्हालिरहेका छन्। पाठकले विद्यमान संरचनाले अपेक्षित परिणाम दिन नसकेको संकेत गर्दै संगठनात्मक सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार पार्टीका मूल मुद्दाहरूमा भन्दा कार्यशैली र चिन्तन प्रणालीमा समस्या देखिएको छ। यथास्थितिमा अगाडि बढेमा आगामी स्थानीय तथा प्रदेश निर्वाचनका लागि प्रभावकारी र प्रतिस्पर्धी उम्मेदवार छनोट गर्न कठिन हुने जोखिम उनले औँल्याएका छन्।
हालसम्मको प्रतिनिधिसभा निर्वाचन परिणामतर्फ संकेत गर्दै उनले प्रत्यक्षतर्फ ज्ञानेन्द्र शाही मात्र निर्वाचित भएको अवस्थाले संगठनात्मक सुदृढीकरणको आवश्यकता थप स्पष्ट पारेको बताए।







